मृतक बिरेन्द्र शाह र सुजन राउतको परिवारलाई १०/१० लाख राहत दिने सरकारको निर्णय।

पौष १३ गते ललितपुर जिल्लाको बालकुमारी स्थित EPS कोरिया साखा कार्यलयमा परिक्षा फारम भर्ने बिषयलाई लिएर भएको प्रदशनको समयमा नेपाल प्रहरीसङ्ग भएको झडपमा परि अछामका बिरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।आज गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति परिवार दश लाख राहत रकम उपलब्ध गराउने र उक्त घटनाको छानविन गर्न मन्त्रालयबाट गठन गरिएको छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।प्रेस विज्ञप्ति जस्ताको त्यस्तै ।

गृह मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति !
मिति २०८० साल पौष १३ गतेका दिन जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ८ बालकुमारीस्थित EPS कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा सुरक्षा प्रदान गर्ने क्रममा हुन गएको अप्रत्याशित घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ को विरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको दुःखद घटनाका सम्बन्धमा गृह मन्त्रालय मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति परिवार दश लाख राहत रकम उपलब्ध गराउने र उक्त घटनाको छानविन गर्न मन्त्रालयबाट गठन गरिएको छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

उक्त घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो बमोजिम कार्यान्वयन गरिने भएकोले छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत ( PSO) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको छ । EPS कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ । साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । सबै नागरिकहरुकले आफ्ना विषयहरु शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको व्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ ।

मितिः २०८०/०९/१४

नारायण प्रसाद भट्टराई सहसचिव/प्रवक्ता
गृह मन्त्रालय ।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *